जनकपुरधामः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् ।

उनले भने, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजना समेत रहेको छैन ।”

आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् । “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन,” अध्यक्ष यादवले भने, “मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन । हटाउने कुनै योजना पनि छैन ।”

यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए । -रासस