इटहरीः नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सुरु गरेको अनाधिकृत संरचना भत्काउने कार्यमा आफ्नो समर्थन रहेको बताएकी छन् ।
शुक्रबार दिउँसो आफ्नो सामाजिक सञ्जालको सदुपयोग गर्दै झाँक्रीले मेयर साहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छन् । झाँक्रीले अनाधिकृत संरचनामा डोजर लगाउने मेयर साहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूची पनि प्रस्तुत गरेकी छन् ।
‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने,’ उनले लेखेकी छन्, ‘मैले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ, निर्वाचन आएकोले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्नप¥यो ।’ पार्टीको दबाबका बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करिडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको झाँक्रीले बताएकी छन् ।
मन्त्री रहँदा मेयर साहसँग बसेर केही योजना बनाएको स्मरण पनि उनले गरेकी छन् । ‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ,’ उनले लेखेकी छन्, ‘मलाईजस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन ।’ झाँक्रीले ९ वटा बुँदामा अब गर्नुपर्ने कामको सूचीसमेत सार्वजनिक गरेकी छन् ।