इटहरीः संघीय संसदका दुवै सदनबाट एक पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएकोमा त्यहाँबाट पुनर्विचारको सन्देशसहित फिर्ता आएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ दोस्रो पटक राष्ट्रियसभामा पेस भई विधायन व्यवस्थापन समितिमा पुगेको छ ।

राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले गरेको प्रस्तावअनुरुप विधेयक समितिमा पठाइएको संसद सचिवालयले जनाएको छ । उक्त प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रपति कार्यालयले पुनर्विचारको सन्देशसहित फिर्ता पठाए पनि प्रतिनिधिसभाले विधेयकलाई कुनै संशोधन नगरी सोझै पारित गरिदिएपछि विधेयक राष्ट्रियसभामा दोस्रो पटक चढेको हो । राष्ट्रियसभाले विधायृन समितिमा पठाएको विधेयक समितिले पारित गरेपछि पुनः राष्ट्रियसभामै निर्णयार्थ पेस हुनेछ ।

त्यसरी पेस भएर पारित भएमा त्यही विधेयक पहिलेजस्तै गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ । यस पटक प्रमाणीकरणका पेस हुन आएमा राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते बोलाइएको छ ।