इटहरीः नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ उपर छलफल गर्न राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ः०० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु हुनेछ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस भएको विधेयक राष्ट्रपति कार्यालयले पुनर्विचारको सन्देशसहित फिर्ता पठाएको थियो ।

प्रतिनिधिसभाले विधेयकलाई कुनै संशोधन नगरी सोझै पारित गरिदिएपछि विधेयक राष्ट्रियसभामा दोस्रो पटक चढेको हो । राष्ट्रियसभाले विधायन समितिमा पठाएको विधेयक समितिले पारित गरेपछि पुनः राष्ट्रियसभामै निर्णयार्थ पेस हुनेछ । त्यसरी पेस भएर पारित भएमा त्यही विधेयक पहिलेजस्तै गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ । यस पटक प्रमाणीकरणका पेस हुन आएमा राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।