चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताएका छन्ृृृृृृृृ ।
भरतपुर महानगरपालिकाले हिजो यहाँ आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तर्क्रिरयामा उनले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताए ।
विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको शुभारम्भ गर्दै उनले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताए ।
भरतपुर विमानस्थलको बिस्तार र मेघौली विमानस्थलको धावनमार्गको कालोपत्रसहितको स्तरोन्नतिका लागि निरन्तर लागि रहेका यसै क्षेत्रका सांसदसमेत रहेका दाहालले दुई विमानस्थलको विकाससँगै यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
उनले भने, ‘पर्यटन विकासको दृष्टिले मेघौलीको सम्भावना प्रचुर रहेको छ ।’
निकुञ्जसँगै आदिवासी समुदायको संस्कृति र भेषभूषाले पर्यटनलाई आकर्षण गरेको उनले बताए ।
दाहालले भने, ‘थारु, दराई र कुमालको संस्कृति एवं परम्परासँगै निकुञ्ज हुनुका कारणले अपार सम्भावना र चुनौती दुवै छ ।’
वन्यजन्तुबाट जनताको सुरक्षाका निम्ति नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा छलफल चलिरहेको उनले बताए ।
उनले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री र वन तथा वातावरणमन्त्रीसँग कुराकानी भइरहेको छ। भारतमा जस्तै यहाँ पनि नयाँ प्रविधिको प्रयोग गर्ने कुरा भइरहेको छ ।’
भारतमा वन्यजन्तुबाट जनताको सुरक्षाका लागि विशेष प्रकारको संयन्त्र विकास भएको भन्दै उनले यसका लागि केही करोड बजेट भए पुग्ने बताए ।
आफूले नारायणी तटबन्ध, चक्रपथ, भरतपुरदेखि मेघौलीसम्मको सहायक राजमार्ग, मङ्गलपुरदेखि मेघौलीसम्मको सडकको स्तरोन्नतिलगायत महत्वपूर्ण विकास निर्माणमा जोड दिएको अध्यक्ष दाहालले बताए ।
मेघौलीलाई विशेष आर्थिक र पर्यटन क्षेत्रका रुपमा विकास गर्ने काम तीव्र गतिमा अघि बढेको उनले बताए ।
कुनै बेला मेघौली विमानस्थलमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ ।
विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । विमानस्थलको धावनमार्गमा कालोपत्र गरेर ट्रमिनल व्यवस्थित गर्न लागिएको हो ।
विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो ।
अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मका क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् । -रासस्ृ