काठमाडौंः नेकपा (एकीकृत समाजवादी )का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य भविसोर पराजुलीले कमिशनमा लिप्त एमालेका युवा नेता महेश बस्नेतलाई काठमाण्डौंबासीले कालोमोसो दलेर गल्लीगल्ली घुमाउने बताएका छन् ।
शनिबार पत्रकार भेटघाटमा उनले कमिसन लिएर मापदण्ड विपरित संरचना बनाउन दिने एमाले पार्टी र तिनका हनुमानहरूलाई बालेनको डोजर अभियानले चर्को रुवाबासी गराएको बताए । महेश बस्नेतलाई दुहुनो गाई मरे जस्तै भएको उनले बताए । त्यसैले पनि उनको रोइलो निकै टिठ लाग्दो देखिएको उनले बताए । नेता भविसोरले भने ‘महेश बस्नेतले जति रोइलो गरे पनि अब मापदण्ड विपरित बनेका संरचना हटाइ छाड्नुपर्छ । उनले रोइलो छिटो बन्द गरुन्, होइन भने हेक्का रहोस्, उनलाई काठमाडौँवासीले कालोमोसो दलेर गल्लीगल्ली घुमाउने छन् ।’
उनले जनताको पक्षमा राम्रो काम गर्नेलाई प्रोत्साहन मात्र होइन सहयोग र समर्थन गर्नुपर्ने बताए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेनको अहिलेको अभियान सही भएकोले आफूले बालेनलाई खुलेरै समर्थन गरेको बताउँदै नेता पराजुलीले भने , देश र जनताको पक्षमा राम्रो काम जस्ले गरे पनि त्यसलाई प्रोत्साहन मात्र होइन सहयोग र समर्थन गर्नुपर्दछ ।
नेता पराजुलीले भने ‘यस्तो समस्या काठमाडौं मात्र होइन एमालेले विगतमा जहाँजहाँ स्थानीय निकायको नेतृत्व गरेको थियो त्यहाँत्यहाँ त्यस्तै समस्या देखिएका छन् ।’काठमाडौंबाट बालेनले सुरु गरेपनि यो अभियान देशका सबै पालिकाले सुरु गर्नुपर्ने उनको भनाई छ ।
पराजुलीले पत्रकारसँग कुरा गर्ने क्रममा भने , ‘अब चुनाव आउँदैछ, दलाल र भ्रष्टहरुले पैसा खर्च गरेर टिकट लिने र पैसाकै बलमा चुनाव जित्ने अनि देश र जनताको पक्षमा काम गर्नुभन्दा आफ्नो लगानी उठाउन भ्रष्टाचार र कमिसनमा तल्लीन हुने स्थिति छ । यो देश र जनतामाथि हुने जघन्य अपराध हो ।’ यसप्रति सजग र सचेत भई पैसा खर्च गरेर चुनाव जित्छु भनेर लाग्नेहरुलाई पनि आगामी चुनावमा डोजर लगाएर सफा गर्नुपर्ने उनले बताए ।