पोखराः नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि ७२ लाख रूपैयाँको ठेक्का आह्वान गरिएको छ ।

ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिनसक्ने र डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो सातादेखि सुरू हुने प्राधिकरणले जनाएको छ । कम्तीमा पनि एक महिना अवधिमा उक्त डाँडा कटानको काम सकिने प्राधिकरणको अनुमान छ ।

रिट्ठेपानीको १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै पोखरामा क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाउने योजना रहेको महानिर्देशक अधिकारीले बताए । प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पूरा गरिसकेको बताइएको छ । वन तथा वातावरण मन्त्रालयले उक्त डाँडा नजिक रहेका छ सय वटा रूख कटानका लागि स्वीकृति दिएसँगै रूख कटानको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयले रूख कटानका लागि दिइएको स्वीकृतीमा काटिएका रूख वन विभागलाई हस्तान्तरण गर्ने सझौता भएको छ । यसैबमोजिम काटिएका रूख विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

रिट्ठेपानी डाँडाको तीन सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ । उक्त विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको छ । कुल २२ अर्ब रूपैयाँ लागतमा बनेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान हुनेछन् ।

क्षेत्रीयस्तरका वायुसेवाहरू यस विमानस्थलमा सेवा सञ्चालनका लागि जोडिने भएका पनि प्राधिकरणले जनाएको छ । -रासस