इटहरीः भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । पाँच दिने भ्रमणका लागि पाण्डे आइतबार नेपाल आएका हुन् । उनले आजै प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन् । पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो । २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलोपटक भारतीय सेनाको मानार्थ महारथीको रूपमा विभूषित गरिएको थियो । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए । सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् ।