काठमाडौंः नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष मावधकुमार नेपालले जनु ठाउँमा जातीय विभेद हुन्छ, त्यही ठाउँमा तत्काल प्रतिरोध गर्न निर्देशन दिएका छन्  ।

नेपाल दलित मुक्ति संगठनको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एककाइसौँ शताब्दीमा पनि छुवाछूत गर्ने जो कसैलाई पनि नछोड्न र तत्काल प्रतिरोध गर्न निर्देशन दिएका हुन् । उनले देशको जुनसुकै ठाउँमा पनि छुवाछूत भए दलित मुक्ति सङ्गठनका नेता तथा कार्यकर्ताहरू र पार्टीका नेता कार्यकर्ताहरू एक भएर लाग्नुपर्ने उनको भनाई छ  । 

अध्यक्ष नेपालले एकीकृत समाजवादीका कुनै सदस्यले जातीय छुवाछूत गरे पार्टीबाट तत्काल निष्कासन गर्ने र सँगसँगै ऐन अनुसार कारवाहीका लागि अगुवाइ गर्ने प्रतिवद्धता पनि जनाए । ‘कुनै पनि कम्युनिष्ट कार्यकर्ताले विभेद गर्दैन । जातीय विभेद गर्ने कोही पनि नेकपा ( एकीकृत समाजवादी ) को नेता र कार्यकर्ता हुन सक्दैनन्, उनले भने, ‘कसैले छुवाछुत गर्न खोजे पार्टीमा उजुरी गर्नुस् । तुरुन्तै कारवाही गर्छौ ।’

अध्यक्ष नेपालले सबै दलित नेता तथा कार्यकर्ताहरूलाई काठमाडौं र सदरमुकाम केन्द्रित नहुन समुदाय सम्म पुग्न समेत निर्देशन समेत दिए ।  को उम्मेदवार हुन्छ भन्ने भन्दा पनि पार्टीका नेता उम्मेदवार हो भन्ने भावनाले काम गर्न  आग्रह गर्दै उनले पाँच दलीय गठबन्धन वर्तमानको आवश्यकता भएकोमा जोड दिए । 

बैठकमा सम्मानित नेता झलनाथ खनालले वर्गीय विभेद कायम रहिरहेसम्म समाज अग्रगामी दिशातर्फ जान नसक्ने भन्दै समाज परिवर्तनका लागि कसैलाई जिम्मा दिने भन्दा आफैं अग्रसर हुनुपर्ने बताए ।  

नेता खनालले दलित मुक्तिका लागि समानुपातिक मात्रै नभएर समान हिस्सेदार हुनुपर्नेमा जोड दिँदै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । 

 बैठकमा पार्टी उपमहासचिव डा. विजय पौडेल, स्थायी कमिटी सदस्य भविसोर पराजुली, केन्द्रीय सदस्य पार्वती विशुंखे लगायतले सम्बोधन गरेका थिए  । सो बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दलित समुदायको उपस्थितिलाई बलियो बनाउन माग गरेको थियो । सो बैठकले विभिन्न विभागहरुको पूर्णता दिएको छ भने दलित आन्दोलनका विभिन्न समसामयिक विषयहरू पनि पास गरेको छ ।

दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष तथा नेकपा ( एकीकृत समाजवादी ) पोलिटब्युरो सदस्य गणेश विश्वकर्माको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय काठमाडौँमा भएको सो बैठकमा केन्द्रीय उपाध्यक्ष दुर्गा परियारले स्वागत गरेका थिए  ।