काठमाडौँः सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
यातायात आवागमनमा सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारी साधन असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णयसमेत भएको छ । यसैगरी, यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय भएको महासचिव गौतमले बताए ।