इटहरीः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन एमालेलाई जित्न नदिन र आफ्नो सरकार बनाउनका लागि गरिएको बताएका छन् ।

प्रेस युनियनले आज जनकपुरमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । कांग्रेसभित्र आकांक्षी धेरै भएकाले उनीहरुको व्यवस्थापनका लागि भएपनि कांग्रेसले सत्ता गठबन्धनको भागवण्डामा एक सय सिट पाउनुपर्ने उनको भनाइ थियो । ‘१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ?,’ कोइरालाले भने, ‘तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ ।’

सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्न सक्ने पनि कोइरालाले बताए । विचार र सिद्धान्त नमिल्ने माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरिएको भन्दै उनले परिणाम सकारात्मक आउने निश्चित नभएको समेत बताए ।