इटहरीः भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका छन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भदौ १९ गते नेपाल आएका जनरल पाण्डे आज स्वदेश प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । जनरल पाण्डेको नेपाल भ्रमणको दोस्रो दिन उनलाई नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी थिइन् ।
सो अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिएको थियो । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।
२०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलोपटक भारतीय सेनाको मानार्थ महारथीको रूपमा विभूषित गरिएको थियो । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए ।
सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् । भ्रमणका क्रममा जनरल पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्तासमेत गरेका थिए ।