काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले अब नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बताएका छन् ।
दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि पेस भएको विधेयक फिर्ता गर्ने कानूनसम्मत अधिकार राष्ट्रपतिसँग नभएको बताउँदै उनले राष्ट्रपतिले अब विधेयक फिर्ता पठाए वा प्रमाणीकरण नगरे उनले राजीनामा दिनुपर्ने वा अदालती प्रकृयामा जानुपर्ने बताए । पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “राष्ट्रपतिसँग केही दिनअघि भेट हुँदा ठूलै राजनीतिक इस्यु बनाउने पनि देखिएको छ,” उनले भने, “प्रमाणीकरण नगर्ने पनि सम्भावना छ । दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था छैन ।”
राज्य व्यवस्था समितिमा वैवाहिक अंगीकृत नागरिकता जारी गर्न सात वर्ष पर्खनुपर्ने व्यवस्था पनि आफूहरुले नै बहुमतले निर्णय गरेको जिकिर गर्दै उनले त्यो विषय सर्वसम्मत पारित गर्न भने नसकिएको उल्लेख गरे ।