काठमाडौँः प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव पेस भई निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाअभियोग सिफारिस समितिले आज पनि बयान लिँदैछ ।
बयानका लागि समितिको बैठक मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्दैछ । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । पछिल्लो पटक भदौ १९ गते समितिले जबरासँग तेस्रो पटक बयान लिएको थियो ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी माग गर्दै भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । तीन दिनभित्र समितिमा आइपुग्नेगरी राणविरुद्ध प्रमाण पठाउन समितिले अनुरोध गरेको थियो ।