काठमाडौँः प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव पेस भई निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने कार्य संसदको महाअभियोग सिफारिस समितिले आज सम्पन्न गरेको छ ।

भदौ १५ गतेबाट बयान लिन सुरू गरेको समितिले आज बयान सम्पन्न गरेको हो । सिंहदरबारस्थित समितिको कार्यालयमा बयानबा लागि बोलाएर राणासँग समितिले विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको समिति सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए ।

जबराको बयानबाट दोषी बताइएकाहरुलाई भोलि बयानका लागि बोलाउने समितिको तयारी छ । समितिले नेपाल बार एसोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए । जबराविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी माग गर्दै भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । तीन दिनभित्र  समितिमा आइपुग्नेगरी राणविरुद्ध प्रमाण पठाउन समितिले अनुरोध गरेको थियो ।

यसैबीच, संसदको महाभियोग सिफारिस समितिमा रहेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरूद्धको महाभियोगबारे अहिलेको प्रतिनिधि सभाले निर्क्यौल गर्न नसके निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाले टुंगो लगाउने बताएका छन् । समिति सदस्य नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सकेसम्म अहिले नै प्रतिवेदन तयार गर्ने गरी काम भइरहेको बताए ।