रौतहटः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमले गराएको भनिएको राजपुर बमकाण्डको विषय राजनीतिक दुशाग्रहको एउटा नमूना रहेको र त्यसलाई दबाबपूर्ण हिसाबले प्रमाणित गर्न प्रहरी र प्रशासन लागि परेका तथ्य विस्तारै खुल्न थालेका छन्।
कतिपय प्रमाणलाई लुकाएर तत्कालिन नेकपा सरकारले कांग्रेसका प्रभावशाली नेता भएका कारणले नै फँसाउन यस्तो डिजाइन गरेको भन्ने आलमका परिवार र समर्थकको आरोपलाई बल पुग्नेगरीका घटनासँग जोडिएका खास व्यक्तिका बयानले पुष्टि गरेको छ।
घटनामा मृत्यु भएको भनिएका ओसी अख्तरका ससुरा समसुल मियाँले जिल्ला अदालतमा दिएको बयानले आलमलाई राजनीतिक रुपमा फँसाउने षडयन्त्र गरेको र यसमा प्रहरी प्रशासनको प्रयोग गरिएको स्पष्ट खुल्छ। उक्त घटनामा पिन्टु भनिने त्रिलोकप्रताप सिंह भनिनेको पनि मृत्यु भएको भनी उजुरी दर्ता गरिएको थियो।
यतिमात्र होइन सर्लाहीको लालबन्दीमा तरकारी पसल चलाउने समसुल मियाँले अदालतमा त मृत्यु भएको भनिएका आफ्ना छोरी ज्वाँई ओसी अख्तर र पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई घटना भएको भनिएको २७ चैत ०६४ को तीन चार दिनपछि भेटेको समेत अदालती बयान दिएका थिए।
२७ चैतका दिन भने ज्वााई ओसी अख्तर आफ्नो घरमा बसेको पनि उनले अदालतमा दिएको बयानमा उल्लेख छ।
त्यसअघि प्रहरीले जबरजस्ती उनलाई उक्त घटनाको साक्षी बनाई अदालतमा पेस गरेको थियो। प्रहरीले लिएको बयानमा जबरजस्ती काजगमा हस्ताक्षर गर्न लगाइएको पनि उनले अदालतमा बयान दिएका थिए।
यतिमा मात्र नभएर तत्कालिन सत्तासिन नेकपाका स्थानीय नेता शैलेन्द्र साहले काठमाडौंमा लगी तीन देखि चार दिनसम्म राखेर विभिन्न सञ्चार माध्यममा लगी झूठा बयान दिनका लागि दबाब दिएको उनले उल्लेख गरेका छन्।
साहले यसरी जबरस्ती गर्दा उजुरी किन नगरेको भनी सोधिएको प्रश्नमा समसुलले भनेका छन्,‘प्रहरी प्रशासनले पहिला नै जबरजस्ती बयान लेखाउने काम गरिसकेका थिए, राजनीतिक दबाबले मलाई समस्यामा पारिने भएकाले उजुरी गरिँन।’
अफताब आमललाई राजनीतिक प्रतिशोध लिनका लागि ओसी अख्तरकी आमा रोक्साना खातुनको पनि साहले राम्रैसँग उपयोग गरेको बताइन्छ। एमालेका साहले माओवादीसँग आवद्ध रहेकी रोक्सानालाई समानुपातिक सांसद बनाउनेसम्मको आश्वासन दिएर अफताब आलमविरुद्ध उजुरी दिलाउन उक्साएका थिए।
साह र रोक्सानाको उक्त राजनीतिक सन्निकटताका ओसी अख्तरलाई मन नपरेका कारण कतिपय समयमा विवाद हुने गरेको बयानमा समसुल मियाँले बताएका छन्। रोक्सानाको भने निधन भइसकेको छ।