काठमाडौँः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् । सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कारागार विधेयक, २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने पनि आजको बैठकको कार्यसूची रहेको संसद सचिवालयको सूचनामा उल्लेख छ ।