काठमाडौँः प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव पेस भई निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो बयानका क्रममा विभिन्न कसुरमा संलगन रहेको भनी पोलेका (आरोप लगाएका) अधिकारीहरुसँग छलफलका लागि बस्न लागेको महाअभियोग सिफारिस समितिको बैठकको समय पछाडि धकेलिएको छ ।

दिउँसो १ बजे सिंहदरबारमा बैठक सुरु हुने समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेका लागि तय गरिएको बैठक दिउँसो बस्ने गरी सारिएको हो । जबराको बयानबाट दोषी बताइएकाहरुलाई आज बयानका लागि बोलाउने समितिको तयारी छ । समितिले जबरासँग हिजो बयान सम्पन्न गरेको थियो । समितिले नेपाल बार एसोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए । पूर्वन्यायाधीशहरुलाई समितिमा उपस्थित हुन पत्राचार गर्दा शक्ति पृथकीकरणको सिद्धान्त प्रतिकूल हुने भन्दै समितिमा उपस्थित नहुने व्यहोराको जवाफ सर्वोच्च अदालतले हिजो पठाएपछि बैठक पछाडि धकेलिएको हो । जबराविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी माग गर्दै भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । तीन दिनभित्र  समितिमा आइपुग्नेगरी राणविरुद्ध प्रमाण पठाउन समितिले अनुरोध गरेको थियो । यसैबीच, संसदको महाभियोग सिफारिस समितिमा रहेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरूद्धको महाभियोगबारे अहिलेको प्रतिनिधि सभाले निर्क्यौल गर्न नसके निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाले टुंगो लगाउने बताएका छन् । समिति सदस्य नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सकेसम्म अहिले नै प्रतिवेदन तयार गर्ने गरी काम भइरहेको बताए ।