काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताए । स्थानीय तहको निर्वाचनबाट देशबासीले देशको राजनीति कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताउँदै उनले माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको पनि बताए ।
“अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्,” प्रचण्डले भने, “देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ ।”
प्रचण्डले पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताउँदै उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताए ।