काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमान्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।
बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उनले डिमान्ड आयो भन्दैमा राम्रोसँग बुझेर स्वीकृत नदिन आग्रह गरेका हुन् ।
मन्त्री कुँवरले उनीहरूलाई डिमान्ड ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्नेमा जोड् दिनु पर्ने बताए । उनले कसैको दबाब र धम्कीको आधारमा डिमान्ड स्वीकृत नगर्न पनि उनीहरूलाई आग्रह गरे ।
डर, धम्की दिने व्यवसायीहरूसँग आफूले कुराकानी गर्ने पनि मन्त्री कुँवरले बताएका छन् । उनले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिए ।
श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताएका छन् । साथै उहाँले नेपाली श्रमिकले गर्ने काम र पाउने तलबका विषयमा बेला बेला अनुगमन गरेर काम गर्न पनि अनुरोध गरेका छन् ।
९ वटा देशका श्रम सहचारी र काउन्सिलरले मन्त्री कुँवरले आफूले काम गरिरहेको श्रम गन्तव्य मुलुकमा श्रमिकका समस्या, तलबको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगि , जेल र मृत्यु भएका व्यक्तिहरूको व्यवस्थापन, अलपत्र परेका व्यक्तिहरूलाई दुतावासले गरिरहेको सहयोग लगायतका विषयमा जानकारी गराएका थिए ।
उनीँहरूले नेपालीहरू काम गर्न भन्दा पनि भिजिट भिसामा गएर लुकेर बसेका कारण समस्यामा पर्ने गरेको जानकारी मन्त्रीलाई गराएका थिए । भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई उनीहरूले आग्रह गरेका थिए । त्यस्तै सीप सिकेका कामदारलाई मात्रै विदेश पठाउनका लागि सरकारले विशेष पहल गर्नु पर्ने पनि उनीँहरूले माग राखेका छन् ।