काठमाडौंः मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्माण गर्न लागिएको घोषणापत्रमा माओवादी केन्द्रले सरोकारवाला र विषयविज्ञहरूको सुझाव लिने भएको छ । 


शुक्रबार दिउँसो पार्टी मुख्यालयमा बसेको निर्वाचन प्रतिवद्धतापत्र मस्यौदा समितिको बैठकले विज्ञहरूको सुझाव लिने निर्णय गरेको निर्वाचन प्रतिवद्धतापत्र मस्यौदा समितिका सदस्य माओवादीका युवा नेता प्रकाश विकल्पले जानकारी दिए । बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र मस्यौदा समितिका नारायणकाजी श्रेष्ठले समाजवादउन्मुख राज्यको अवधारणा प्रतिविम्बित हुने गरी प्रतिवद्धतापत्र लेख्न विज्ञ र सरोकार पक्षको सुझाव लिने प्रस्ताव गरेका थिए । 


बैठकले आगामी असोज ६ गतेदेखि ८ गतेसम्म सुझाव संकलनका निम्ति कार्यतालिकासमेत निर्माण गरेको छ। माओवादीले वाम बुद्धिजीवीहरू, नागरिक समाज, बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, सहकारी, शिक्षा र स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकूद, विज्ञान–प्रविधि, राष्ट्रिय सुरक्षा, हित, सुरक्षा र परराष्ट्र मामिला, उर्जा तथा जलस्रोत, पर्यटन तथा संस्कृति, सामाजिक सुरक्षा तथा सामाजिक न्याय, पूर्वाधार विकास लगायतका विषयहरू छनोट गरी सो क्षेत्रका विज्ञहरूसँग औपचारिक अन्तरक्रिया गर्न लागेको  विकल्पले बताए । 


घोषणापत्रमा सामयिक राजनीति र माओवादी दृष्टिकोण, नेपालको कम्युनिस्ट आन्दोलन र माओवादीको योगदान, विभिन्न राष्ट्रिय नीतिबारे माओवादी दृष्टिकोण, आगामी पाँच वर्षका लागि माओवादीले अघि सार्ने नीति तथा कार्यक्रमहरू, केही राजनीतिक प्रतिवद्धताहरू, गठबन्धनको औचित्य र राजनीतिक स्थायित्वका निम्ति अपील लगायतका विषयहरू समेटिने युवा नेता विकल्पको भनाई छ । 


निर्वाचन प्रतिवद्धतापत्र नाम दिइने घोषणापत्रमा नवीनतम् मुद्दाहरू अगाडि सार्ने माओवादीले तयारी गरिरहेको छ। राजनीतिक दलहरूले निर्वाचनमा घोषणाका लागि मात्रै घोषणापत्र तयार पार्ने भन्दै विश्वसनियताको प्रश्न उठिरहेकोप्रति आफूहरूको ध्यान केन्द्रित भएकाले सकिने र हरहालतमा गरिने नीति तथा कार्यक्रम मात्र प्रतिवद्धतापत्रका राखिने विकल्पले जानकारी दिए । 


श्रेष्ठको नेतृत्वमा गठित समितिमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, सचिव लिलामणि पोखरेल, गणेश साहसहित परशुराम तामाङ, अमृता थापामगर, डा. मीनबहादुर श्रेष्ठ, डिपी ढकाल, जाकिर हुसेन, प्रकाश विकल्प, जगत सिम्खडा, मनहरि तिमिल्सिना, डा. पूर्ण लोक्सम, नहेन्द्र खड्का लगायतका नेताहरू सदस्य छन् । 


घोषणापत्रका लागि सर्वसाधारणले समेत सुझाव दिनसक्ने गरी व्यवस्था गरिएको माओवादी केन्द्रले जनाएको छ। प्रतिवद्धतापत्रमा समावेश गर्नका लागि आफ्नो सुझाव बुंदागत रूपमा [email protected] मा पठाउन सकिने सदस्य विकल्पले बताए ।