काठमाडौँः प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव पेस भई निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको प्रतिवेदन संसद सचिवालयलाई बुझाउने तयारी महाअभियोग सिफारिस समितिले गरेको छ ।
नेपाली कांग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मीनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताए । समितिको दोस्रो बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । जबराविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी माग गर्दै भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । तीन दिनभित्र समितिमा आइपुग्नेगरी राणविरुद्ध प्रमाण पठाउन समितिले अनुरोध गरेको थियो । समितिले जबरासँग बयान सम्पन्न गरी उनले पोलेका अधिवक्ताहरुसँग पनि बयान सम्पन्न भइसकेपछि प्रतिवेदन तयार गरी संसद सचिवालयलाई बुझाउने तयारी गरेको हो ।