काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ‘ढुंगा पूजा गर्दै हिँड्नु विज्ञानसम्मत नभएको बताएका छन् ।

१० औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । अध्यात्मवादलाई जडसुत्रवादसँग जोड्दै प्रचण्डले अध्यात्मवादमा रहेको विभेद र अपमानले समाजमा विभाजन ल्याउने जिकिर गरे ।

उनले विज्ञान प्रविधिले समानता, समाजवाद र न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठूलो वहस चलाउन आवश्यक रहेकोमा जोड दिए । नेपालमा तेत्तिसकोटी देवता हुन्छन् भनेर जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने भन्दै उनले मान्छेलाई लात हान्दै हिँड्ने तर ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गरे ।

नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले यस्तो संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताए । उनले देश विकासका लागि सबैले आफ्नो सोचाइ र हेराईको दृष्टिकोणलाई बदल्न वैज्ञानिक छलफल आवश्यक रहेको बताए ।