अछामः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताएका छन् ।

शुक्रबार रातिको बाढी र पहिरोमा परी २२ जना पहिरो र १ जनाको खोलाले बगाएर मृत्यु भएको अछाममा पुगी मन्त्री कुँवरले विपद्को बेला सबैले सचेत हुन समेत आग्रह गरे ।

पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर उहाँले घाइतेको उपचार सरकारले गर्ने बताए ।

mantri-5

मन्त्री कुँवर पहिरो प्रभावित क्षेत्रमा गई राहत सामग्री पनि वितरण गरे । मन्त्री कुँवरले त्रिपाल, ब्लांकेट, खाद्यान्न लगायत सामग्रीसहित नगद सहयोग गर्नुभएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । मन्त्री कुँवरले मृतक प्रतिव्यक्ति १० हजारका दरले मृतकका आफन्तलाई सहयोग गरेका हुन् ।

यसैगरी गृह मन्त्रालय मार्फत प्रमुख जिल्ला अधिकारी मरासिनीले प्रति परिवार १ लाखका दरले किरिया खर्च उपलब्ध गराएका छन्  । थप सहयोग पछि हुने र तत्कालका लागि किरिया खर्च बापत प्रतिपरिवार १ लाख उपलब्ध गराइएको उनले बताए  ।