काठमाडौंः नेकपा ( एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । आठौं संविधान दिवसको अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले एक शुभकामना वक्तब्य जारी गर्दै नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाइरहेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण सहिदहरूप्रति उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको उनले शुभकामना वक्तव्य उल्लेख गरेका छन् ।
उनको वक्तब्यमा भनिएको छ -संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागिरहेको हामी सवैले अनुभुति गरिरहेका छौं । दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतीका विरूद्ध अघिल्लो बर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुनेछ ।
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने उनले बताएका छन् ।
गत वैशाखमा स्थानीय निर्वाचन सफलतापुर्वक सम्पन्न भएको छ र निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेका छन् । हामीलाई पूर्ण विश्वास छ, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा यहाँहरुबाट सहयोग, सद्भाव र सुझबुझपूर्ण निर्णय हुने उनले बताएका छन् ।