काठमाडौँः मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकत निर्वाचन प्रणालीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली बुझाउने म्याद आज सकिँदैछ । 

हिजोसम्ममा नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले मात्र बन्दसूची बुझाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यस्तै, प्रदेशसभाका लागि प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, वाग्मतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेको उनको भनाइ छ । बन्दसूची बुझाउन बाँकी रहेका सबै दलहरुले आज कार्यालय समयभित्र बन्दसूची बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि आयोगले एक विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न नहुँदासम्म लालपुर्जा वितरण र सरकारी कर्मचारीको विदेश भ्रमणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो ।