काठमाडौँः आज असोज ३ गते अर्थात् संविधान दिवस । २०७२ साल असोज ३ गते शनिबार जननिर्वाचित दोस्रो संविधानसभाले निर्माण गरेको संविधान तत्कालीन राष्ट्रपति डा.रामवरण यादवबाट जारी भएको ऐतिहासिक दिनलाई सरकारले संविधान दिवसका रुपमा मनाउँदै आएको छ ।

२०६४ चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले अन्तरिम संविधान २०६३ खारेज गर्दै नयाँ संविधान जारी गरी लामो संवैधानिक रिक्तता अन्त्य गरेको थियो । सोही ऐतिहासिक दिनको अवसरमा सरकारले आज विभिन्न व्यक्तित्वहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको छ । सरकारद्वारा सिफारिस गरिएका ९९८ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गर्नेछिन् ।

संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गर्न लागिएको हो । जसमा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न प्रदान गरिने भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयबाट प्रदान गरिने यस्ता पदकहरु योगदानका आधारमा नभई सरकार वा सत्ताधारी दलसँगको निकटताका आधारमा पहुँचवालालाई वितरण गर्ने गरिएको भन्दै आलोचनासमेत हुने गरेको देखिन्छ । विगतका वर्षहरुमा केह ीगलत व्यक्तिलाई पदक वितरण भएको भन्दै पदक पाउने केही व्यक्तिहरुले पदक बहिष्कारसमेत गरेका थिए ।