काठमाडौँः नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रले दक्षिण कोरिया र इजरायलमा नेपाली युवाहरुलाई कृषि तालिममा पठाउने भएको छ । महासंघका जिल्ला तथा नगर शाखाहरुको सिफारिसमा ६ सय जनालाई कोरिया र इजरायल पठाउन लागिएको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले जानकारी दिए ।

कोरियामा ५ सय जना र इजरायलमा १ सय जना गरी ६ सय जना कृषि प्रशिक्षार्थी पठाउन लागिएको उनले उल्लेख गरे । परीक्षामा छनोट भएका प्रशिक्षार्थीलाई आधारभूत तालिम यहीँ प्रदान गरिनेछ ।

यस्ता प्रशिक्षार्थीले ५ महिनाको भिसा पाउनेछन् । हवाइ भाडा, बीमा, स्वास्थ्य परीक्षण र बायोमेट्रिक गरी करिब ३ लाखको हाराहारीमा खर्च हुनेछ ।

हप्तामा ५ दिन प्रतिदिन ८ घण्टाका दरले काम गर्नुपर्नेछ । प्रतिमहिना १९ सय डलर तलब पाउनेछन् । हरेक दिन बिहान र बेलुका २र२ घण्टा ओभरटाइम काम गर्ने र सोबापत प्रतिघण्टा आठ डलर भत्ता पाउने गरी सम्झौता हुन लागेको सुमार्गीले स्पष्ट पारे । 

त्यस्तै, बिदा हुने शनिबार र आइतबार पनि काम गर्ने छुट रहेको बताउँदै उनले उक्त दिन काम गर्दा ओभरटाइम सरह भत्ता पाइने जानकारी दिए ।

‘३० वर्षदेखि ५५ वर्ष सम्मका व्यक्तिहरु पठाउने गरी उताबाट प्रस्तावमा अन्तिम सहमति हुनेवाला छ, तर यहाँ नेपाली युवाहरुले २५ वर्षमाथि उमेर भएकाले जान पाउने गरी प्रस्ताव गर्न अनुरोध गर्नुभएको छ, हामी अब २५ वर्ष माथिका युवाहरु जान पाउने गरी अर्को प्रस्ताव पनि गर्दैछौँ’ उनले पटक महासंघ र कृषि उद्यम केन्द्रले पहल गरेर नेपाली युवालाई कोरिया र इजरायलमा कृषि प्रशिक्षार्थीका रुपमा पठाउन लागिएको बताए । योग्यता लगायतका प्रवधान भने केही दिनमै टुंगो लाग्ने उनको भनाइ छ ।