काठमाडौँः बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सरकारी निवासबाहिर आइतबार एक युवतीले मिडियालाई लामो अन्तर्वार्ता दिइन् । आफू निलम्बित प्रधानन्यायाधीश राणाकी छोरी सुनिधि राणा भएको बताउँदै उनले सरकारको व्यवहारको कडा शब्दमा भर्त्सना गरेकी थिइन् ।  

सरकारले राणा परिवारमाथि अन्यायमाथि अत्याचार गरेको, भित्रबाट बाहिर निस्कन नदिए गुनासो गर्दै न्यायालय जोगाउन जनता घरबाट निस्कन अपिलसमेत गर्न भ्याइन् । आत्मविश्वासका साथ सरकार र वरिष्ठ अधिवक्ताहरूविरुद्ध खनिएकी ती युवती राणाकी आफ्नै छोरी भने नभएको खुलेको छ ।

पारिवारिक स्रोतका अनुसार, राणाकी सुनिधि नामकी कुनै छोरी छैनन् । उनका दुई श्रीमतीमध्ये जेठी उमा हमालतर्फबाट छोरी श्रृष्टि र छोरा सचिन्द्र शमशेर छन् । स्टोभ पड्किएर उमाको मृत्युपछि राणाले दोस्रो बिहे गरेका थिए । दोस्रो श्रीमतीतर्फबाट छोरी समृद्धि मात्र छिन् । ‘भतिजी वा धर्मपुत्री भए थाहा भएन । अन्तर्वार्तामा देखिएकी युवती चोलेन्द्र शमशेरकी साख्खै छोरी भने हैनन्’, एक आफन्तले भने ।

राणानिवासबाट निस्किँदै गर्दा अन्तर्वार्ता दिएकी युवती हुन्– दैलेखकी मीना जैसी । उनको घर दैलेखको साविक चामुण्डा गाविस हालको चामुण्डा–बिन्द्रासैन नगरपालिका हो । स्थानीय देवीराम जैसीका दुई छोरीमध्ये उनी जेठी हुन् । केही वर्षअघिसम्म देवीराम दैलेख सदमुकाममा होटल चलाउँथे ।

120907605१

मिडियासँगको अन्तर्वार्तामा सुनिधि राणा बताउने मीनाले दैलेखबजारस्थित सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षाका लागि काठमाडौं आएकी हुन् । दैलेख जाँदा उनले आफू मोडलिङमा लागेको बताउने गरेकी थिइन् । तर, केही वर्षभित्रै उनको आर्थिक हैसियत बढेर निजी सवारी साधन प्रयोग गर्ने तहमा पुग्यो । उनले परिवारलाई पनि काठमाडौं ल्याइन् ।

आइतबार एकाएक राणाकी छोरीका रूपमा सञ्चारमाध्यममा छाएपछि दैलेखका छिमेकी र साथीसंगी अचम्ममा परे । राणा परिवारसँग उनको वास्तविक साइनो के हो खुलेको छैन । सञ्चारमाध्यममा उनको अन्तर्वार्ता आएपछि चोलेन्द्रपुत्रीका रूपमा उनी एकाएक चर्चामा आइन् ।

केही टेलिभिजन र न्यूज एजेन्सी नेपालले उनको अन्तर्वार्ता लिएका थिए । न्यूज एजेन्सीको भिडियो सामग्री व्यापक प्रयोग भएपछि सो अन्तर्वार्ता एकाएक भाइरल भएको थियो । पत्रकारले नाम सोध्दा ती युवतीले केही अड्किएर सुनिधि राणा भनेकी छिन् । उनीसँगै रहेकी अर्की युवती भने चोलेन्द्रशमशेर राणाकी जेठी श्रीमती उमातर्फकी छोरी श्रृष्टी हुन् । ‘नजरबन्द’मा परेको भनेका प्रधानन्यायाधीशकी छोरीको परिचय दिएपछि आफूहरूले महत्व दिएको न्यूज एजेन्सीका प्रबन्ध निर्देशक सविन धमलाले बताए ।

अन्तर्वार्ता प्रसारणपछि आइतबार साँझै उनले केही टेलिभिजनमा सम्पर्क गरी ‘बुवा रिसाइस्यो, त्यो अन्तर्वार्ता हटाइदिनु’ भनेकी थिइन् । शिलापत्रले राणा परिवारसँग उनको सम्बन्धबारे बुझ्न खोज्दा भने सम्पर्क हुन सकेन । -शिलापत्रबाट