काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफलमा रहेकी छन् । संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरकिता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा पुगेको दिन आज बल्ल राष्ट्र«पति छलफलमा जुटेकी हुन् ।

नागरिकता विधेयक भदौ २० गते राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पुगेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार उक्त विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिन पुग्ने भएकाले राष्ट्रपति भण्डारी छलफलमा रहेको बताए ।

राष्ट्रपतिले यसअघि उक्त विधेयक संसद्मा फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिबाट फिर्ता आएको विधेयक सोही अवस्थामा वा संशोधनसहित संसद्ले प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

संविधान प्रारम्भ हुनुअघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबुआमा दुवै नेपाली नागरिक भएको अवस्थामा वंशजका आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था कार्यान्वयनका लागि उक्त कानुन ल्याउन परेको सरकारको स्पष्टोक्ति छ ।

नागरिकता प्राप्त गर्नबाट बञ्चित ठूलो सङ्ख्यामा रहेका युवायुवतीले पठनपाठन, विदेश यात्रा, बैंकिङ कारोबार तथा चलअचल सम्पत्ति खरिद बिक्रीसमेत गर्न नपाएर अनागरिक बन्न बाध्य भइसकेको गुनासो गर्दै आएका छन् ।