इटहरीः आउँदो मंसिर ४ गते घोषीत निर्वाचनको लागि तीन दिनपछि (असोज २३ गते )उम्मेद्वारको मनोनयन दर्ता हुने दिन नजिँकिँदै जाँदा निर्वाचन आयोगले उम्मेद्वारमा हुनुपर्ने योग्यता तोकेको छ ।
आयोगले बिहिबार एक सुचना जारी गर्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुने प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चाहिने योग्यताको सूची सार्वजनिक गरेको हो ।
आयोगका अनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेद्वार बन्न पाउँदैनन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उम्मेदवार सुरुमा नेपालको नागरिक हुनुपर्ने योग्यता राखिएको छ ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको भएपनि प्रदेश सभाको निर्वाचनमा भने सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको’ हुनुपर्ने सूचनामा उल्लेख छ ।
२५ वर्ष उमेर पूरा भएको संघीय कानुनले अयोग्य नभएको व्यक्ति उम्मेद्वार बन्न पाउँछ भने कुनै लाभको पद बहाल नरहेको हुनुपर्ने पनि आयोगले भनेको छ । ’यस प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ती गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ’ भन्ने व्याख्या गरिएको छ ।
यो योग्यताको कानुनी व्यवस्था प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ मा गरिएको छ ।
यता ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको’ व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने निर्वाचन आयोगको भनाई छ ।
निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको’ व्यक्ति पनि उम्मेद्वार बन्न अयोग्य हुनेछ ।
यता भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा २० वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति पनि उम्मेद्वार बन्न पाउने छैनन् ।
संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको, यसबाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, व्यक्ति आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वार बन्न अयोग्य हुनेछन् ।
मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजूरी दिन सकिने र यसरी उजुरी परेको मनोनयनपत्र र दर्ता भएका मनोनयनपत्र जाँच गर्दा कानुनबमोजिम उम्मेदवार हुनका लागि आवश्यक योग्यता पूरा नगरेको र अयोग्यता रहेको भएमा सम्बन्धित निर्वाचन अधिकृतबाट त्यस्तो उम्मेदवारी बदर हुने निर्वाचन आयोगको भनाई छ ।