काठमाडौंः नेकपा  (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले आफूहरूले एमाले सँग विद्रोह नगरेको भए संविधान रक्षा नहुने बताए ।

शनिबार नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र  नं. १ ले आयोजना गरेको दशैँ तिहार छठ नेपाल सम्वत् लगायतका चाडहरुको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.भुसालले आफूहरुले त्यस समयमा विद्रोह गरेर प्राप्त उपलव्धिको रक्षा गरेको बताए ।

महासचिव भुसालले अबको चुनाव प्रतिगमन र अग्रगमन विचको टकराव भएको भन्दै जनताको मौलिक अधिकार सहित सिंगो प्रणालीको रक्षाका खातिर पनि गठबन्धनको जरुरी रहेको बताए । 

स्थानीय निर्वाचनमा मतदाता शिक्षाको अभावकै कारण थुप्रै मत बदर भएको स्मरण गर्दै महासचिव भुसालले त्यस तर्फ ध्यान दिन र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । 

उनले आगामी चुनावले पार्टीको शक्ति र हैसियतलाई सुढृड गर्न र त्यसका लागि प्रत्यक्ष सहित समानुपातिक तर्फ पार्टीको कलम चुनाव चिन्हमा मतदान गर्न अभिप्रेरित गर्दै गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न  सम्पूर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।