मकवानपुरः  मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले आफू दोब्बर मतले विजयी हुने दाबी गरेका छन् । 

मकवानपुरको मनहरीमा लोकतान्त्रिक बाम गठबन्धनले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै खतिवडाले राजा फर्काउने अभियानमा लागेका देखि देश टुक्राउने मिसनमा लागेका पार्टीसँग तालमेल गरेको एमालेको उम्मेद्वार भन्दा आफू गठबन्धनको दोब्बर मतले चुनाव जित्ने दाबी गरेका हुन् ।

‘गठबन्धनमा रहेका हाम्रा दलहरूको मत र एमालेले गएको चुनावमा पाएको मत हेर्ने हो भन्ने अन्तर दोब्बर छ । ’ खतिवडाले भने, ‘चुनावमा एमालेले म संग लड्न उठाएको उम्मेदवारले ३० देखि ३५ हजारसम्म भोट ल्याउँछन् भने मैले ६४ हजार भोट ल्याई चुनाव जित्छु ।’ नेता खतिवडाले मकवानपुरमा गठबन्धनका ६ जना उम्मेदवारको नै जित सुनिश्चित रहेको ठोकुवा समेत गरे । ‘अहिलेको लडाइ अग्रगामी गठबन्धन र पश्चगामी गठबन्धनका बीचमा हो ।’

खतिवडाले भने,‘ हामी अग्रगामी गठबन्धनमा रहेका प्रतिनिधिसभा र प्रदेशसभाको ६ वटै सिट ढुक्कले जित्नेछौँ ।’ 

पश्चगामी गठनबन्धनको नेतृत्व गरिरहेको एमालेले जित्यो भने संविधान तथा मुलुकले प्राप्त गरेको उपलब्धि माथि खतरा हुने चेतावनी दिँदै उम्मेदवार खतिवडाले देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षाका लागि पनि काङ्ग्रेस, माओवादी केन्द्र ,एकीकृत समाजवादी, जनमोर्चा, नेपाल समाजवादी पार्टी जस्ता लोकतान्त्रिक शक्ति बीत गठबन्धनको आवश्यकता बनेको प्रष्ट पारे । केपी शर्मा ओलीमा नक्कली राष्ट्रवाद र आफूलाई सर्वेसर्वा भन्ने दम्भ पलाएकाले असली कम्युनिष्टहरूले उनीसँग विद्रोह गरी एकीकृत समाजवादी पार्टी स्थापना गर्नुपरेको खतिवडाले बताए ।

एमालेले चुनावमा एजेन्डा नभएपछि विभिन्न भ्रम छर्दै अहिले जनताका बीचमा गइरहेको दाबी गर्दै उहाँले झुट र भ्रम नछर्न चेतावनी समेत दिए । 

यस्तै, प्रदेशसभा (क)का उम्मेदवार कुमारी मोक्तानले गठबन्धनबाट उठेका उम्मेदवारलाई फरक पार्टीको रुपमा नहेरी मत दिन मतदातासँग अपील गरे ।  फरक चुनाव चिन्हमा मत किन दिने भन्दै भ्रम फैल्याउने कार्य भइरहेकाले देश र नागरिकको भविष्यका लागि भएको गठबन्धनमा आबद्ध उम्मेदवारलाई जिताउन फरक चिन्ह भएपनि निर्धक्कले भोट दिन उनले आग्रह गरे । 

यस्तै, प्रदेशसभा (ख)का उम्मेदवार इन्द्रबहादुर बानियाँले तत्कालीन ओली नेतृत्वको नेकपा सरकार जनताको विकास भन्दा आफ्ना लागि ध्यान दिन केन्द्रीत भएको बताउँदै गठबन्धनपछि विकासमा फड्को मार्ने काम भएको बताए । अहिले गठबन्धनको प्रदेश सरकारले मकवानपुरमा विकासका लागि विभिन्न योजनाहरु अघि सारेको बानियाँले बताए ।