काठमाडौंः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ समाप्त हुने बताएका छन् । 

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने–‘पवित्र उद्देश्यका साथ बनेको गठबन्धनले मंसिर ४ को निर्वाचनमा जनताले जवाफ दिने छ ।’ 

उनले भने–‘हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ ।  हामीले स्वच्छ भावनाका साथ गठबन्धन गरेका छौँ ।’ ०७४ सालमा दुई वटा कम्युनिष्ट पार्टीहरूलाई झण्डै दुईतिहाइको मत दिएको उनले बताए ।  जनताले राम्रो कामका लागि मौका दिएको  तर, जनताको विश्वासको कदर नभएको उनले टिप्पणी गरे । 

लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर संविधानलाई धुजा पार्ने काम ओलीबाट भएको नेपालले बताए । उनले भने–‘संघीयतालाई समाप्त पार्ने आशंका भयो ।  उपलब्धि नै धरापमा र्पयो।’ व्यक्तिवादमा डुबेर संविधान र राज्यभन्दा माथि ठान्ने ओलीको हिटलर प्रवृत्ति देखा पर्यो ‘पार्टीका नेतामा अहंकार बढेपछि कसैलाई टेर्दैन ।’

हिटलरको शैलीको व्यक्ति केही समयमा आफै समाप्त हुने उनले बताए ।  कांग्रेस र कम्युनिष्टबीच यसअघि पनि उपलब्धि रक्षाको लागि सहकार्य भएको स्मरण उनले गरे ।