काठमाडौँः नेकपा ( एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले जनताको मौलिक अधिकार सहित सिंगो प्रणालीको रक्षाका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।
पार्टीको काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको दशैँ तिहार छठ नेपाल सम्वत् लगायतका चाडहरुको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा डा भुसालले आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताउँदै गठबन्धनका साझा उम्मेदवार अग्रगमनका पक्षधर भएको प्रष्ट पारे ।
नेकपा एमालेसँग आफूहरूले विद्रोह नगरेको भए संविधानको रक्षा नहुने बताउँदै उनले आफूहरुले त्यस समयमा विद्रोह गरेर प्राप्त उपलब्धीको रक्षा गरेको बताए ।
महासचिव डा. भुसालले स्थानीय निर्वाचनमा मतदाता शिक्षाको अभावकै कारण धेरै मत बदर भएको स्मरण गर्दै त्यसतर्फ ध्यान दिन र मतदाता शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
आगामी चुनावले पार्टीको शक्ति र हैसियतलाई सुदृढ गर्ने र त्यसका लागि प्रत्यक्ष सहित समानुपातिकतर्फ पार्टीको कलम चुनाव चिन्हमा मतदान गर्न अभिप्रेरित गर्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । रासस