काठमाडौंः नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रको एजेण्डा सार्वजनिक गरेका छन् ।
सोमबार तीन राजनीतिक पार्टी माओवादी केन्द्र, नेकपा एस र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिबद्धता जाहेर गरेका हुन् । तीन वटै पार्टीले आर्थिक ऐजेण्डामा कृषि, रोजगारी र संरचनागत सुधार गरी अर्थतन्त्र बलियो बनाउने घोषणा गरेका छन् ।
माओवादी केन्द्रले पनि आगामी निर्वाचनको घोषणा पत्रमार्फत वित्तिय सङ्घीयता पूर्णरुपमा कार्यान्वयन गरी सातै प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको आर्थिक एकाईको रुपमा विकास गर्ने घोषणा गरेको छ । घोषणापत्र पढ्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको मुख्य काम भनेको आर्थिक क्रान्ति भएको बताए । उनले नेपालको आर्थिक समृद्धि र विकासको निम्ति केन्द्रित हुने धारणा व्यक्त गरे ।
माओवादी केन्द्रको आर्थिक एजेण्डा
नेपालको अर्थ प्रणाली सामान्य तरिकाले परिर्वतन हुन सम्भव नभएको अध्यक्ष दाहालको भनाइ छ । उनले मुलुकको व्यापार घाटा कम गर्न राष्ट्रिय व्यापार प्रतिष्ठान, रोजगार निर्माणका लागि राष्ट्रिय रोजगार प्राधिकरण, राष्ट्रिय गौरवका कायोजनाका पुँजीगत खर्च वृद्धि गर्न राष्ट्रिय विकास आयोजना प्राधिकरण गठन गर्ने घोषणा गरे ।
उनले सामूहिक उत्पादन प्रणाली विकास गर्ने,सार्वजनिक यातायातमा राज्यको भूमिका वृद्धि गर्ने, विकास निर्माणमा न्यायोचित वितरणमा जोड दिने बताए । अध्यक्ष दाहालले वैदेशिक सैन्य गठबन्धन नगर्ने, दुई अङ्कको आर्थिक वृद्धि गर्ने, कृषि र किसानलाई केन्द्रबिन्दुमा राख्ने, कृषि योग्य जमिन बाँझो राख्ने प्रणालीको अन्त्य गर्ने, सामूहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन वृद्धि गर्ने घोषणा गरे ।
त्यस्तै, उनले किसानलाई बाली लगाउनुभन्दा अगाडि मल उपलब्ध गराउने प्रतिवद्धता गरे । अध्यक्ष दाहालले रासायनियक मलको प्रयोग कम गर्न जैविक र प्राङ्गारिक मल उत्पादन गरी जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने बताए । कृषि उत्पादनको उचित मूल्य तोक्ने र प्रत्येक प्रदेशमा दुई वटा औधोगिक केन्द्र स्थापना गर्ने पनि उनको धारणा छ ।
अध्यक्ष दाहालले हरेक पालिकामा एक औद्योगिक ग्राम निर्माण गर्ने, वैदेशिक रोजगारबाट फर्केका युवालाई रोजगारी र उद्योग खोल्न छुटको व्यवस्था गर्ने उल्लेख गरे । उनले सरकारी कार्यालयहरुमा नेपाली उत्पादन अनिवार्य गर्ने बताए । उनले १० लाख युवाहरुलाई रोजगारी दिइ २० लाख युवालाई स्वरोजगार बनाउने घोषणा गरे । माओवादीले घोषणापत्रमा पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख छ । त्यस्तै, गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुतताकासाथ अघि बढाइने उल्लेख गरेको छ । पुँजीबजारमा विदेशी संस्थागत लगानीलाई क्रमशः खुला गर्न आवश्यक कार्ययोजना तयार गरी लागू गरिने घोषणा गरेको छ । ‘समृद्ध किसान, देशको सान, आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका साथ कृषि क्षेत्रका विकासका योजना समेटिएको छ । कृषि वस्तुको आयात घटाउन र मुलुकको अर्थतन्त्रको आधार कृषिलाई बनाउन कृषि क्षेत्रको विकास अपरिहार्य भएको माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ ।
नेकपा एसको आर्थिक एजेण्डा
त्यस्तै, सत्तारुढ दल नेकपा एसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै १२ महिना (वर्षभर) नै कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने घोषणा गरेको छ । नेकपा एसले घोषणापत्रमार्फत वर्षभर कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने लगायतका प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै, नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन ल्याउन पहल गर्ने नेकपा एसका महासचिव डा. बेदुराम भुसालले घोषणा गरे । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुनेगरी विस्तार तथा आधुनिकीकरण गर्न पहल गरिने बताए ।
भुसालले बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको सङ्ख्या बढाइने घोषणा गरे । उनले ५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने योजना रहेको बताए । महासचिव भुसालले मुलुकमा उत्पादनमूलक, रोजगारीमुलक उच्च प्रतिफलयुक्त क्षेत्रलाई विकास गर्न सरल ब्याजदरमा सार्वजनिक ऋण परिचालन गरिने उल्लेख गरे । उनले नेपालको पछौटेपन, आयात आधारित राजश्वको मुल स्रोत, डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी,कृषिबाट सक्रिय जनशक्ति नेपालमा नै स्वरोजगार बनाई मुलुकलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने बताए ।
राप्रपाको आर्थिक एजेण्डा
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पाँच वर्षमा रोजगारी र आय–आर्जनका अवसरहरु वृद्धि गरी उपभोग तथा वचत गर्ने र क्षमता वृद्धि गर्ने घोषणा गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत र्पुयाउने बताए । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाइने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाइने घोषणा गरे ।
उनले प्रत्यक्ष वैदेशिक लगानीकर्तालाई लगानीमैत्री वातावरणमा विश्वस्त तुल्याउन लगानीमैत्री कानूनहरुको निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाइ थप मितव्ययी र पारदर्शी बनाउने योजना ल्याउने बताए । अध्यक्ष लिङदेनले करको संरचना र दरमा सुधार गरी कर प्रणालीलाई थप सरल, वैज्ञानिक र समन्यायिक बनाइने उल्लेख गरे । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाईने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाउने बताए । उनले पुँजी बजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाइने, विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिने उल्लेख गरे ।
यसैगरी, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गरी राजनीतिक दलहरुले आफ्नो पाँच वर्षे घोषणापत्र सार्वनिक गर्ने क्रम जारी रहेको छ । -गोरखापत्र अनलाइनबाट