काठमाडौंः  नेकपा (एकीकृत समाजवादी)ले भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गर्ने योजना अघि सारेको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्रमा सीमा समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिने उल्लेख छ । 

‘भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गर्न पहल गरिने छ,’ घोषणापत्रमा भनिएको छ, ‘सीमा समस्याको समाधान र सीमा(नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिने छ ।’

स्वतन्त्र, असंलग्न र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विश्वशान्ति, मानवता, सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्दै नेपालको विकास र नेपाली जनताको समृद्धिमा योगदान र्पुयाउने गरी अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिलाई व्यवस्थित गर्न पहल गरिने पनि उल्लेख छ ।

राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्रराष्ट्रहरूसँग पञ्चशील र असंलग्नताका सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुरूप सुमधुर सम्बन्ध कायम गरिने छ । स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गरिने घोषणापत्रमा उल्लेख छ । घोषणपत्र सोमबार सार्बजनिक भएको हो ।