दिपायलः  डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय साना गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार पूर्वी चौकी गाउँपालिका  ३ गैरा गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया बगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहरा रहेका छन् ।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिए । । भूकम्पले सो गाउँका ८ घरमा पूर्ण रूपमा क्षति गरेको उनले बताए ।

Artboard 1 copy 2

मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६।६ म्याग्निच्युटको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् । जिल्लाको सायल गाउँपालिकामा पनि भौतिक क्षति भएको जनाइएको छ ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । 

स्थानीय शिक्षक मीनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् । त्यस अघि पनि राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५।७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको थियो ।

रेवती रमण राई