बाराः प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचारप्रसारको समय पनि अन्तिम चरणमा छ । राजनीतिक दलका उम्मेदवारहरुले घरदैलोको कार्यक्रमहरु पनि लगभग सकाईसकेका छन् ।
बारा क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले निर्वाचनको घरदैलो अन्तिम अवस्थामा पुगिराख्दा आफू विजयको माला पहिर्याउन मात्र बाँकी रहेको बताउँछन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि उनलाई जनताको साथ र समर्थन बढ्दै गएको छ । जसका कारण पनि वाग्ले अहिले निर्वाचन जित्नेमा ढुक्क छन् ।
यस क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट पूर्वयुवा तथा खेलकुदमन्त्री एकवाल मियाँ र नेकपा (एकीकृत समाजवादी)बाट पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) चुनावी मैदानमा छन् । तर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री श्रेष्ठ भने पटक–पटक विवादमा तानिँदै आएका छन् । उनले उम्मेदवारी दर्ता गराएकै दिन निर्वाचन आचारसंहिता विपरित बाजा बजाएर उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा बाजा रोक लगाएपनि उनले तनहुँ र सिमराको बाजा प्रयोग गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्ता पछि श्रेष्ठले म्यानपावरलाई प्रयोग गरेर बाराको परवानीपुरमा निर्वाचन आचारसंहिता विपरित चुनावी ब्यानरमुनी ‘फ्रि भिजा फ्रि टिकट’ भन्दै अन्तर्वार्ता राख्न लगाए । उनले मतदातालाई प्रभावित पार्ने गरी अन्तर्वार्ता राख्न लगाएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । श्रेष्ठले आयोगलाई स्पष्टीकरण बुझाईसकेका छन् ।
त्यसपछि उम्मेदवार श्रेष्ठले बाराको जीतपुरमा आयोजित एक सार्वजनिक बहस कार्यक्रममा मतदातालाई ‘सा.... भाडाका ट्टुहरु’ भन्ने शब्द प्रयोग गरे, जुन शब्दले उनी निकै आलोचित बन्न पुगे । अर्का एमालेका तर्फबाट उम्मेदवार मियाँ पनि विगत देखि नै विवादमा मुछिदै आएका व्यक्ति हुन् । विगतमा चुनाव जिते पनि उनले आफ्नो क्षेत्रमा केहि गर्न नसेको मतदाताहरु बताउँछन् ।
जसपाको महन्थ ठाकुर पक्षबाट युवा तथा खेलकुदमन्त्री समेत बनेका मियाँ ०७५ मा विवादमा तानिएका थिए । मियाँ त्यतिबेला स्वतन्त्र तिब्बतसँग सम्बन्धित एक कार्यक्रममा सहभागी भएर विवादमा तानिएका हुन् । लाटभियाको संसदको ‘तिब्बतका लागि सहयोग समूहको सहयोगमा टिबेटियन पार्लियामेन्ट इन एक्साइल’ले आयोजना गरेको सातौँ पार्लियामेन्टेरियन कन्भेन्सन अन तिब्बतमा नेपालबाट मियाँसहित दुई जना सांसद सहभागी भएका थिए ।
लाटभियाको रिगामा आयोजना भएको सम्मेलनमा नेपाल, भारतसहित विभिन्न देशमा करिब २५ सांसद सहभागी थिए । मियाँसहित दुई सांसद उक्त कार्यक्रममा सहभागी भएको सूचना चुहिएलगत्तै चीनले सरकारसँग गम्भीर प्रश्न उठाएको थियो । चीनको आपत्तिपछि परराष्ट्र मन्त्रालयले १४ मे २०१९ मा विज्ञप्ति निकाले सांसदको सहभागिताको विषयमा अनभिज्ञता प्रकट ग¥यो । तर, मियाँलाई तत्कालीन राजपाले कारबाही गरेन ।
वाग्ले अघिअघि
एमाले मियाँ र नेकपा (एकीकृत समाजवादी)बाट पूर्वश्रममन्त्री श्रेष्ठ भन्दा वाग्ले हरेक क्षेत्रमा अगाडि देखिएका छन् । वाग्लेले सुरुवातदेखिनै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउँदै लगेका छन् । चुनाव आउन अब चार दिन मात्र बाँकी रहँदा उनले मतदातासँगको भेटघाटलाई बाक्लो बनाउँदै लगेका छन् । यस क्षेत्रमा रहेको ३८ वटै वडामा पुगेर मतदातासँग आफ्नो योजना र अनुभव सुनाईरहेका वाग्ले पछिल्लो समय बलियो प्रतिस्पर्धीको रुपमा उदाएको देखिन्छ ।
सानो निर्वाचन परिचालन कमिटीबाट आफ्नो प्रचार अभियान शुरु गरेका वाग्लेको पक्षमा मत माग्न अहिले प्रचार कमिटी नै सयौंको संख्यामा सक्रिय छन् । चुनावी प्रचारका लागि वाग्लेले बनाएको परिचालन कमिटीले क्षेत्रभरी सयौंको संख्यामा सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । सम्पर्क कार्यालयमार्फत वाग्लेको समर्थनमा चुनावी प्रचार हुँदै आएको छ ।
क्षेत्रभरी आफ्नो पक्षमा जनसमर्थन बढ्न थालेपछि वाग्ले उत्साहित देखिएका छन् । उनी आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । कांग्रेसका केही प्रभावशाली नेताहरु वाग्लेको पक्षमा खुलेर प्रचारमा नहिँडेपनि मौन समर्थन जनाइरहेका छन् भने अन्य अधिकांश नेताकार्यकर्ता खुलेरै प्रचारमा व्यस्त छन् । आफ्नो पार्टीको उम्मेदवार र मतपत्रमा चुनाव चिन्ह नै नहुने भएपछि स्वतन्त्र उम्मेदवार जिताएर क्षेत्रको विकासका लागि आफ्नो मतको सदुपयोग गर्ने कांग्रेसका नेताकार्यकर्ता बताउँछन् । यस क्षेत्रका अधिकांश कांग्रेसका नेताकार्यकर्ता वाग्लेको पक्षमा खुलेको देखिन्छ ।
कांग्रेस नेताकार्यकर्ता मात्र नभई वाग्लेको पक्षमा स्वतन्त्र नागरिकले समेत सक्रिय सहभागिता जनाएका छन् । बाहिरबाट आएका उम्मेदवारलाई भन्दा यसै क्षेत्रमा आफ्नो सर्वस्व लगानी गरेर र संयौको संख्यामा स्थानीयलाई रोजगारी दिएका उम्मेदवारलाई आफूहरुले समर्थन गरेको पथलैयाका विश्वास थापाले बताए ।
वाग्लेको पक्षमा उत्तरी क्षेत्रका मात्र नभइ दक्षिणी क्षेत्रका नागरिक समेत सक्रिय भएर लागेका छन् । होटल तथा पर्यटन व्यवसायमार्फत विकास र परिवर्तन सम्भव छ भन्ने देखाएका कारण पनि वाग्लेप्रति आकर्षण बढेको देखिन्छ । फेटाका २५ वर्षीय युवा अशोक पटेल उत्तरी क्षेत्रजस्तै दक्षिणतर्फको मुहार फेर्नका लागि पनि स्वतन्त्र उम्मेदवार जिताउने अभियानमा स्थानीय युवाहरु लागेको बताउँछन् ।
स्वतन्त्र उम्मेदवार वाग्लेले पनि आफ्नो जितपछि बारा ४ को मुहार फेर्न आफु सक्षम रहेको बताउँदै आएका छन् । जिल्लाको अन्य क्षेत्रमध्ये सबैभन्दा बढी सम्भावना बोकेको बारा क्षेत्र नं। ४ लाई आगामी पाँच वर्षमा नमुना क्षेत्रको विकास गर्ने वाग्ले बताउँछन् ।