इटहरीः मतपेटिकामा आगजनी भएपछि बाजुराको खापर गाउँपालिकामा वितण्डा भएको छ । 

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ’क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो । 

आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा  मतपेटिकामा आगलागी भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । मतपेटिकामा आगजनि भएपछि केहि बेरा मतदान स्थल तनावग्रस्त बनेको थियो । कसरी आगो लाग्यो भन्ने अहिले सम्म खुलेको छैन । 

कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताए । 

आगो लागेपछि पानी हालेर नियन्त्रणमा लिइएको छ भने मतपेटिकामा सामान्य क्षति भएको बताईएको छ । 

‘मतपेटिकामा सामान्य क्षति भएको छ, मतपत्रमा भने क्षति भएको छैन, सामान्य भिजेको छ, निर्वाचन अधिकृतले के गर्ने भनेर निर्णय गर्नुहुन्छ,’ उनले भने । 

निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउने अधिकारीले  बताए । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ ।