गुल्मीः गुल्मीमा गत वर्षभन्दा यस वर्ष झन्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदा यो वर्ष छ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । 

उत्पादन क्षेत्रफलमा वृद्धि, फल बाक्लो लाग्नु, बगैँचा व्यवस्थापनमा सचेतना बढ्दै जानु, मौसम अनुकूल हुनु, फल्ने बोटको वृद्धिसँगै सुन्तला उत्पादनमा पनि वृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । १० वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासका कारणले अहिले २९ करोड ३७ लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको छ । 

सुन्तला उत्पादन बढे पनि कृषकहरूले आकर्षक मूल्य नपाएको गुनासो गरेका छन् । सुन्तलाका लागि प्रसिद्ध धुर्कोट गाउँपालिका–१, नयाँगाउँमा मात्रै अहिले दुई करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । 

स्थानीय मीना घिमिरेले सुन्तला उत्पादनमा वृद्धि आए पनि सोचेजस्तो मूल्य नपाएको गुनासो गरिन् । “मेहनतअनुसारको मूल्य पाउन सकिएको छैन,” उनले भनिन् , “उत्पादन भएका सुन्तला स्थानीय ठेकेदारले खरिद गरी बुटवल लैजाने गरेका छन् । हामी उनीहरूकै भाउमा सुन्तला बेच्न बाध्य छौँ ।” 

२०४६ सालदेखि सुन्तला उत्पादन गर्दै आएका स्थानीय पीताम्बर कोइरालाले विगतमा भन्दा अहिले सुन्तला उत्पादन बढे पनि मूल्य नपाएको उनले बताए । 

४०/५० वटा बोटबाट सुन्तला खेती सुरु गरेकामा अहिले डेढ सयभन्दा बढी बिरुवा छन् । उनले उचित मूल्य नपाएको भन्दै स्थानीय तहले बजारीकरणका लागि प्रबन्ध मिलाइदिनुपर्नेसमेत बताए । 

आम्दानीको मुख्य स्रोत नै सुन्तला भएको उनले बताए । त्यही पनि राम्रो मूल्य नपाउँदा समस्या भएको छ । 

यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले सुन्तला उत्पादक कृषकहरूको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको जनाएको छ । 

नयाँगाउँलाई पकेट क्षेत्र नै बनाएर काम गरेको परियोजना कार्यान्वयन एकाइप्रमुख गङ्गाकुमारी पोखरेलले बताए । बजारको सुनिश्चितता र कृषकले उचित मूल्य प्राप्त गर्ने गरी विभिन्न निकायसँग समन्वय गर्ने गरेको दाबी रहेको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।