इटहरीः रोजगारका लागि ६ महिना अघि मात्र साउदी पुगेका खोटाङका एक युवकको कारको ठक्करबाट ज्यान गएको छ । उनको शब हिजो(आइतबार) घर ल्याइएको छ । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडाका ३१ वर्षीय सोनिल राईको साउदीमा कारको ठक्करबाट उनको गएको ६ जेठ राती ज्यान गएको थियो ।  शव भने आइतबार(हिजो) बिहान ५ बजे घर ल्याइएको हो ।

घटना हुन साथ परिवारका सदस्यले उन शवलाई स्वदेश ल्याउन अनेकौ पहल गरेपनि मेनपावर कम्पनी, नेपाली दुतावासको आलटालका कारण यतिका समय लागेको हो । ठूलो सपना बोकेर रोजगारका लागि  विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार राई संस्कार अनुसार दाहसंस्कार समेत गरिएको छ ।

उनी मासिक एक हजार रियल पाउनेगरी काठ्माण्डौंको काठ्माडौं एचआर सोलुसन प्रालिमार्फत साउदी  पुगेका थिए । ड्युटी जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको  आफन्त हिराधन चाम्लिङले बताए । 

राईका श्रीमती जुनकला, पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरा छन् । श्रीमानको शव आउन ढिलाइ भएपछि जुनकला बच्चा काखी च्यापेर आफन्तसँग पटक–पटक मेनपावरको कार्यालय र वैदेसिक रोजगार बोर्डको सचिवालय पुगेकी थिईन् ।