भोजपुरः अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू। ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू। २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् ।

धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतको हारहारीमा मूल्य गिरावट आएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ चोलन्तीका अलैँची कृषक चक्रबहादुर विष्टले जानकारी दिए । 

यस वर्ष चोलन्ती गाउँमा रहेको करिब छ सय मन अलैँची प्रतिमन रू २४ हजारका दरले मात्र बिक्री भएको उनले बताए । “यस वर्षमा अलैँचीले सोचे जस्तो मूल्य पाएन”, विष्टले बताए । 

अलैँचीको मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अलैँचीको खेतीमा लागेका किसानहरु मारमा परेको उनको भनाइ छ । विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अलैँची खेती गरेको भए पनि अहिले निराशा छाएको विष्टले बताए ।

“अहिले अलैँचीको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था छैन”, उनले भने, “मैले यस वर्ष १० मन अलैँची उत्पादन गरे । त्यसको गोडमेल तथा टिप्नका लागि एक सय ५० जना बढी खेताला लगाएको छु । अहिलेको मूल्य हेर्दा उनीहरुलाई दिने पैसा नै नपुग्ने अवस्था छ ।”

parcha (1)

मूल्यमा गिरावट आउन थालेपछि कतिपय कृषकले बगान नै गोड्न छाडेको कृषक विष्टको भनाइ छ । यसरी नै मूल्य घट्दै जाने हो भने अलैँचीको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । 

“पाँच/छ वर्षअघिसम्म अलैँचीको मूल्य राम्रो थियो”, विष्टले भने, “हामीले नै प्रतिमन रु एक लाख २० हजारसम्म बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि धान खेत मासेर अलैँची लगाइयो अहिले समस्या भयो । समय फेरियो अब फेरि अलैँचीको विकल्पमा अरू बाली लगाउनुपर्ने अवस्था छ ।”

अलैँचीले राम्रो मूल्य पाएपछि विदेश जान छाडेर यही व्यावसायिक खेतीमा लागेको भए पनि मूल्यमा आएको गिरावटको कारण समस्या भएको युवा अलैँची कृषक सुवास विष्टले बताए । 

कुल ११ रोपनीभन्दा बढी जमिनमा खेती विस्तार गरेको भए पनि सोचेजस्तो मूल्य पाउन नसकेकेको उनको भनाइ छ । “स्वदेशमा नै केही गरौँ भनेर व्यावसायिक अलैँची खेती गरिरहेको छु”, कृषक विष्टले भने, “मूल्य स्थिर छैन । हामी जस्ता किसानको समस्यालाई ध्यानमा राखेर सरकारले बजारीकरणमा ध्यान दिन आवश्यक छ ।”

मूल्यमा आउने गिरावट, अलैँचीमा लाग्ने रोग, सुक्खा खडेरीलगायत विविध कारण अलैँचीको उत्पादन घट्दै गएको स्थानीय किसान पुष्कर विष्टले बताए । “मूल्यको कारण किसानमा निराशा छ”, उनले भने, “किसानले पहिला जस्तो मिहेनत गर्न छाडेको अवस्था छ । जसको कारण बर्सेनि उत्पादन पनि घटेको अवस्था छ । बर्सेनि मूल्य कमी हुँदै जाँदा खेती विस्तारमा पनि धेरै कृषकले कमी गरेका छन् ।”

पछिल्लो समय अलैँची किसानमा निराशा छाएको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताए । अलैँची किसानलाई मूल्यमा आएको गिरावटसँगै रोग, किरा तथा बाँदरका कारण उत्पादनमा समस्या रहेको उनले जानकारी दिए ।

“मूल्यमा आउने उतारचढावका कारण अलैँची किसानमा निराशा छ”, अध्यक्ष प्रधानले भने, “मूल्य घटेका कारण किसानको श्रम ज्याला नउठ्ने अवस्था छ । सरकारले यसको उचित मूल्य निर्धारण गरेर बजारीकरणमा ध्यान दिए किसानमा उत्साह थपिने थियो ।”

अलैँचीको उत्पादन पनि कुल बर्सेनि कमी हुँदै आएको उनको भनाइ छ । ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको उनले जानकारी दिए । 

जिल्लामा सात सय १९  हेक्टर क्षेत्र अलैँची खेतीयोग्य जमिन रहेको भए पनि पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ  । केन्द्रका अनुसार  गत वर्ष भोजपुरमा दुई सय ३२ मेट्रिक टन अलैँची उत्पादन थियो ।

भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, चोलन्ती, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा,  हेलौछा, गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य  रुपमा अलैँची उत्पादन हुने गर्दछ । रासस