प्रकाश बन्जारा
इटहरीः इटहरीको गोलो चोक आसपासका रिटेल व्यावसायीले होलसेल पसलहरुले रिटेलमा सामान बेचिदिँदा आफुहरुको व्यावसाय चौपट भएको आरोप लगाएका छन् ।
विशेष गरी संगीत चोक आसपासमा रहेका होलसेल पसलहरुले खुद्रा सामान पनि बेच्दा आफुहरुको व्यावसायमा असर परेको उनिहरुको आरोप छ ।
विगत १८ बर्ष देखि इटहरीको आरसिटि मार्केटमा रिटेल पसल गर्दै आइरहेका गोपाल खरेलले आर्थिक मन्दिका कारण व्यावसाय मारमा परेका बेला एक दुई वटा आउने ग्राहकहरुलाई पनि होलसेल पसलहरुले तानिदिँदा आफुहरु समस्यामा परेको बताए ।
इटहरीको पार्किङ्ग निषेधको घटनाका कारण त्यतिकै मारका परेका व्यावसायीलाई होलसेल व्यावसायीले गरेको व्यवहारले झनै मारका पारेको खरेलको भनाई छ । त्यस्तैगरी इटहरीकै आरसिटि मार्केटमा रहेको पोसाक पसलका संचालक विष्णु खड्काले होलसेल व्यावसायीका कारण इटहरीका रिटेल व्यावसायीको पेटमा सिधै लात हानिएको आरोप लगाए ।
रेडिमेट व्यासायी संघले यसको बारेमा हेर्नुपर्ने भएता पनि नहेरेको र होलसेल पसलहरुका कारण आफुहरु विस्तापित हुने अवस्थामा पुगेको खड्काको आरोप छ । आफुहरले होलसेल व्यासायीहरुलाई अलग्गै रिटेल काउन्टर खोलेर रिटेलमा सामान बेच्न सुझाव दिएको भएता पनि उनिहरुले वेवास्था गरेको र होलसेल पसलबाटै रिटेलको सामान बेचेको उनको आरोप छ ।
यस्तै इटहरीको चोकका खुद्रा व्यावसायी दिनेश कोइरालाले संगीत चोक वरपरका होलसेल व्यासायीले खुद्रामा सामान बेचिँदिदा कतिपटक त आफुहरु होलसेलमा सामान किन्न जाँदा समेत रिटेलमा सामान खरिद गर्दै गरेका ग्राहक भेटिने गरेको बताए । आफुहरुसँग होलसेलमा भन्दा सामानको मुल्य सय पचास बढि हुने तर होलसेलमा ग्राहक गएर किनीरहेको भेट्दा आफुहरुलाई असहज हुने समेत कोइरालाले बताए ।
व्यापारीहरु एक आपसमा सहकार्य गरेर अगाडी नबढ्दा होलसेल वाला व्यापारीले रिटेलमा सामान बेचेको बताउँदै कोइराला आफुहरुको पीडा सुनिदिने निकाय नभएको बताउँछन् ।
उद्योग वाणिज्य संघ तथा रेडिमेट व्यावसायी संघबाट समेत आफुहरुको समस्याको सुनुवाई नभएको रिटेल व्यावसायीहरुको भनाई छ ।
व्यापारमा आएको मन्दि, पार्किङ्गको समस्या लगायतका कारण व्यावसायमा ८० प्रतिशत गिरावट आएको रिटेल व्यावसायीहरुको भनाई छ । उनिहरुले घर भाडा, स्टाफ खर्च र बैँक व्याज लगायतका समस्या धान्नै गाह्रो भएको प्रतिक्रिया दिएका छन् ।
यता रिटेल व्यावसायी बिमल प्रसाद खरेलले भने सुलभ व्याजदर, बजार नजिकै पार्किङ्गको व्यावस्था भएको खण्डमा व्यापारीलाई सहज ‘हुने बताए । उनले अहिले बजार लगभग शुन्यको अवस्थामा रहेको बताउँदै केही सुधारको अपेक्षा समेत व्यापारीहरुले गरिरहेको भनाई राखेका छन् ।
इटहरी चोककै आरसिटि मार्केटमा रहेको तार्गेट रिटेल पसलका संचालक राज कुमार श्रेष्ठ र साङ्गगे तामाङ्गले पनि होलसेल व्यापारीहरुले आफुहरुको पेटमा लात हान्ने काम गरेको आरोप लगाएका थिए ।
संगीत चोक आसपार व्यावसाय गरीरहेका होलसेल व्यावसायीले भने आफुहरुले रिटेल सामान नबेच्ने बताएका छन् । संगीत चोकको तिनजुरे सप्लायर्सका संचालक दिपक खड्काले होलसेल पसलहरुले रिटेलमा सामान बेचिरहेको भन्ने कुरा सामाजिक संजालमा आएको र यो सत्य भएको बताएका छन् । आफु होलसेल व्यापारी भएको र आफ्ना नियमित ग्राहक इटहरीमा भएका कारण पनि आफुले रिटेलमा सामान नबेच्ने खड्काको भनाई छ । तर संगीत चोककै धनन्जय इन्टरप्राइजेजका संचालक कुमार धमला भने इटहरीका रिटेल व्यावसायीहरुले इटहरीका होलसेलबाट सामान नकिन्ने भएका कारण पनि रिटेलमा सामान बेचेको भनेर कसैले गुनासो गर्ने अवस्था नरहेको बताउँछन् । आफुले सामान किन्दा भने काठमाण्डौ, उर्लाबारी र धुलाबारी जाने रिटेल व्यावसायीहरुले इटहरीका होलसेलले के गरे भनेर प्रश्न गर्न समेत नहुने धमलाको भनाई थियो ।
यता इटहरी उपमहानगर पालिका वडा नम्बर ६ कै व्यावसायी चन्द्र राईले भने खुल्ला बजार अर्थ निती भएका कारण जसले जहाँ जसरी पनि सामान खरिद गर्न र बेच्न पाउने भनाई राखेका छन् । रिटेलले कति वटा र होलसेलले कति वटा सम्म सामान बेच्न पाउने भन्ने निती नभएका कारण सबैले सबै प्रकारले आफ्नो व्यापार गर्न सक्ने राईको भनाई छ ।
रिटेल व्यापारीहरुले मार्जिन बढि राखेर बेच्ने गरेकाले पनि रिटेल व्यापारीहरुले मार्जिन लिमिट राख्नुपर्ने होलसेल व्यापारीहरुको भनाई छ ।