धनकुटाः खानेपानी अभाव भएको धनकुटाको महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे ।
नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । कुल लागतमध्ये १४ करोड बराबर ठेक्का भीमेश्वर आरयू मैनाली जेभी काठमाडौँले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ ।
विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएकोे जेभीले तोकेको समयमा काम पूरा गर्ने आरयू मैनाली जेभीका म्यानेजर ज्ञानेन्द्र लामाले जानकारी दिए । लामाले सबैको सहयोग पाएकाले लिफ्टिङ खानेपानीको पूर्वाधारको काम ९० प्रतिशत र मुख्य पाइप लाइन विस्तारको काम ३५ प्रतिशत सकिएको जानकारी दिए ।
चार लिफ्टिङ स्टेसनमार्फत सञ्चालन हुने यस आयोजनामा एक (सम्फवेल) इनार, २० हजारदेखि ५० हजार लिटर क्षमताका १३ वटा ट्याङ्कीसहित ४५ किमी खानेपानी शाखा लाइन विस्तार गरिनेछ ।
आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव भएका तीन वडालाई सहयोग पुग्ने नगरका प्रमुख ध्रुव रायाले जानकारी दिए । रायाले भने, “यो खानेपानीले जनतालाई धेरै सहयोग पुग्नेछ ।” आयोजना निर्माण पूरा भएपछि मानवीय सरसफाइ, वस्तुभाउ तथा करेसाबारीमा तरकारी लगाउन सहयोग पुग्ने वडा नं ६ का अध्यक्ष नरबहादुर महतराले जानकारी दिए । अब वडावासीले खानेपानीको जोहो गर्न चिन्ता गर्ने दिनको अन्त्य हुने वडा नं ७ का अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिए । रासस