ओखलढुङ्गाः ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीय एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जना विरुद्ध कैद सजायको फैसला भएको हो ।

बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दिपक विश्वकर्मा, २७ वर्षीय मुना विश्वकर्मा विरुद्धमा अदालतले कैद र जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश टिकाराम आचार्यको एकल इजलासले दीपकलाई ५ वर्ष कैद सहित ६० हजार जरिवाना र मुनालाई पाँच वर्ष कैद सहित ५० हजार जरिवानाको फैसला गरेको छ ।

सोही घटनामा संलग्न एक १७ वर्षीय नाबालिकाको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ । 

पीडितलाई नगद ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला समेत भएको छ । दीपकले ३० हजार, मुनाले १५ हजार र १५ हजार स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुङ्गा जिल्ला अदालतका श्रेस्तेदार नवीन खनालले बताए । बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्था अनुसार सम्बन्धित स्थानीय तहले १५ हजार व्यहोर्नुपर्ने फैसला भएको श्रेस्तेदार खनालको भनाई छ । 

२०७५ वैशाख ८ गते दिपक, मुना र एक बालिकाले बोक्सीको आरोप लगाई वृद्धालाई कुटपिट गर्दै आगोले पोलेका थिए । पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा मार्फत न्यायका लागि चार वर्ष अघि जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।

जिल्ला न्यायाधीश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै अदालतले सजाय तोकेको हो । जिल्लामा बोक्सी आरोपका थुप्रै घटना मिलापत्रमा टुङ्ग्याउने गरिएपनि अदालतमा पुगेको यो मुद्दा भने पीडितकै मागवादी अनुसार फैसला भएको छ ।