इटहरीः बलात्कार गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका ४ बाट प्रहरीले ससुरालाई पक्राउ गरेको छ ।
डर त्रास देखाएर आफ्नै घरमा बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि सुनवर्षी४ का ५८ वर्षीय ससुरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ससुरामाथि झण्डै १ वर्षअघि २५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोप छ ।
२०७८ साल फागुन १० गते ससुराले बलात्कार गरेको भनि बुहारीले इलाका प्रहरी कार्यालय रंगेलीमा मंगलबार जाहेरी दिएकी हुन् । बुहारीमाथि बलात्कार गरेको आरोप लागेका ससुरालाई प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले घरैबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पीडितको स्वास्थ्य परीक्षण विराटनगरमा गराइएको छ ।