इनरुवाः इनरुवा नगरपालिकामा दैनिक नगरबासीले तिरेको कर बापतको राजस्व रकम वडाध्यक्षहरुले ब्यक्तिगत उपभोगको लागि प्रयोग गर्ने गरेको पाईएको छ ।

इनरुवा नगरपालिका १० वटै वडामा रहेका वडा कार्यालयहरुले चालु आर्थिक वर्षको साउन महिनादेखि नगरपालिकाको राजस्व शाखामा कर बापतको लिएको रकम दाखिला नगरेको पाईएको हो ।

आन्तरिक आयतर्फको आम्दामी शुन्य अवस्थामा रहेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले लेखा शाखासँग समन्वय गरी राजस्व रकम नगरपालिकामा दाखिला नहुनुको कारण ’bout जानकारी लिने क्रममा सो तथ्य बाहिरिएको हो ।

लेखा तथा राजस्व नियमावली तथा निर्देशिकाअनुसार कुनै पनि सरकारी कार्यालयमा दैनिक आम्दामी बाधिने राजस्व बापतको रकम सोही दिन वा भोली पल्ट विहान १० बजेसम्म सरकारी राजस्व ढुकुटीमा जम्मा गर्नु पर्ने अनिवार्य बाध्यात्मक ब्यवस्था रहेको छ ।

इनरुवा नगरपालिकाको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा रहेको २२२०१००३०१०१००३ नम्बरको राजस्व खातामा रकम जम्मा गरी प्रत्येक वडा कार्यालय र राजस्व शाखाले दैनिक १० बजे भौचर लेखा फाँटमा बुझाउँनु पर्ने अनिवार्य बाध्यात्मक ब्यवस्था छ ।

तर सो विपरित इनरुवा वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाले २६ लाख रुपैया राजस्वको रकम साउन महिनादेखि आफ्नो ब्यक्तिगत घर कामकाज र ब्यवहारमा प्रयोग गरेको कारण नगरपालिकाको खातामा राजस्व वापतको रकम जम्मा हुन सकेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत राईले वडासचिवको जिम्मामा रहने राजस्व रकम नगरपालिकाको खातामा दाखिला नभएपछि ताकेता गरेका थिए । धेरै पटकको ताकेतापछि सचिवले शुक्रवार पाँच लाख रुपैया राजस्व खातामा जम्मा गरेका छन ।

वडाध्यक्ष थापाले कार्यपालिका बैठक र लेखाफाँटसँग उक्त रकम आफूले ब्यक्तिगत काममा प्रयोग गरेकोले छिट्टै रकम बुझाउने प्रतिबद्धता ब्यक्त गरेको स्रोतले जनाएको छ ।

त्यस्तै अन्य दुई वटा वडाले पनि साउन महिनादेखि समाचार तयार पार्दासम्म राजस्व बापतको रकम जम्मा नगरेको पाईएको छ ।

इनरुवा १ र ५ नम्बर वडाबाट सरुवा भएका सचिवहरुले आफू जिम्मामा रहेको राजस्व रकम शुक्रवारै जम्मा गरी फरफारक गरेका छन ।

त्यसैगरी अन्य वडाहरुले पनि राजस्व रकम बुझाउन बाँकी रहेको बताईएको छ । स्रोतका अनुसार एक जना वडाध्यक्षले राजस्व बापतको रकम वडा सचिवबाट आफूले बुझिलिएर बैदेशिक रोजगारमा साउदी जाने चार जना युवाहरुलाई ब्याजमा ऋण लगानी गरेको र उनीहरुले सो रकम नपठाउँदा राजस्व खातामा रकम जम्मा गर्न सकेका छैनन ।

स्रोतले वडा नम्बर ३ बाहेकका सबै वडाले धेर थोर रकम राजस्वमा लामो समयदेखि जम्मा गरेका छैनन ।

इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले आफू मातहतका वडामा कार्यरत सचिव कर्मचारीहरुलाई टेलिफोनमार्फत र ब्यक्तिगत रुपमा भेटेर मौखिक आग्रह गर्दै अविलम्ब राजस्व बापतको रकम जम्मा गर्न निर्देशन दिएको बताए ।

उनले जनप्रतिनिधिहरुको साख नगिर्ने गरी गोपनीयता कायम राखिदिन र केही दिन सार्वजनिक नगरिदिन आग्रह गर्दै सूचनाको विवरण उपलब्ध गराउन अस्विकार गरे ।

राई भने, ‘यहाँको चलन यस्तै रहेछ । पुरानो परम्परालाई एक्लो ब्यक्तिले एकै पटक भत्काउन र लिखित स्पष्टिकरणसहित रकम दाखिला गर्न निर्देशन दिने अवस्था नरहेकोले कुनै पत्रमार्फत राजस्व रकम दखिला गर्न पत्र पठाउन सकेनौ ।’

लेखा अधिकृत अशोक मेहताले राजस्व शाखामार्फत रकम बैंकमा दखिला भएको भौचर दैनिक विहान १० बजे कार्यालय समयभित्र बुझाउनु पर्ने आर्थिक नियम रहेकाले सोअनुसार राजस्व रकम जम्मा हुन नसकेको स्विकार गरे ।

मेहताले भने, ‘राजस्व शाखासँग विवरण लिनुस, आन्तरिक आम्दामीतर्फको रकम जम्मा नहुँदा विकासमा असर पुगेको छ ।’