धरानः सुनसरीको व्यवसायीक प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित फागुन ११ देखि आयोजना हुने ‘धरान एक्स्पो २०७९’का लागि स्टल बुकिङ खुला गरिएको छ ।
धरानमा पहिलो पटक डोम प्रविधिको प्रयोग गरी आयोजना हुन लागेको एक्स्पोमा विभिन्न क्षेत्रका एक सय बढी स्टल रहने छन् ।
एक्स्पोमा रैथाने, कृषि, औद्योगिक तथा घरेलु उत्पादन र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले बताएको छ । त्यसबाहेक, कृषि औजार, कपडा, छाला, विदेशी, घरेलु उपभोग्य, मेशिनरी, अटोमोबाइल, बैंकिङ, वित्तीय एवम् बीमा, खाद्य, खेल, साहित्य र भवन निर्माणका स्टल एक्स्पोमा सहभागि हुँदैछन् ।
सुस्ताएको नेपाली बजारलाई चलायमान बनाउन र प्रदेश १ को औद्योगिक नगरी धरान र सुनसरी जिल्लाको समग्र व्यवसायीक प्रवद्र्धन गर्ने लक्ष्यसहित एक्स्पो आयोजना भइरहेको र त्यसका लागि स्टल बुकिङ खुला गरिएको एक्स्पोका स्टल बुकिङ संयोजक विष्णु बरालले जानकारी दिएका छन् ।
‘आम्दानी गर्नेभन्दा धरानले पनि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो’स्टल संयोजक बरालले भने, ‘त्यसैले व्यवसायी, उत्पादक र व्यापारीलाई हाम्रो यस अभियानमा सहभागि भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’
स्टल निर्माणमा प्रति स्टल २६ हजार ५ सय खर्च भएपनि एक्स्पोमा सहभागि हुनेलाई मूल्य अभिवृद्धि करसहित ११ हजार तीन सय रुपैयाँमा स्टल उपलब्ध गराइने आयोजकले बताएको छ ।
एक्स्पोमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साङ्गीतिक प्रस्तुति र रैथाने उत्पादनको प्रवद्र्धन गर्न पर्यटन गोष्ठिसहित प्राज्ञिक बहस आयोजना हुनेछ ।
धरान उपमहानगरपालिका र प्रदेश १ को सहयोगमा आयोजना हुने धरान एक्स्पो २०७९ को मुख्य प्रायोजकको रुपमा मितेरी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग, हुन्डाई, निक, त्रिवेणी ग्रुप, लक्ष्मी र यति कार्पेट रहेका छन् ।
दश दिनसम्म आयोजना हुने एक्स्पोलाई ३० हजार बढीले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजक सुनसरी उद्योग वाणिज्य संघले विश्वास राखेको छ ।