इटहरीः पुस ६ गतेबाट विराटनगरमा हेलिकोप्टर उडान शुरु हुने भनेर व्यापक चर्चा भयो । १ हप्तासम्म हुने विराट एक्स्पोमा एसियाटिक हेलि टुरको संयोजनमा हेलिकोप्टर यात्रा हुने भन्दै चर्चा भएको थियो । तर, एक्स्पो सञ्चालन भएको ४ दिन बित्दा पनि हेलिकोप्टर उडान भने भएको छैन ।

विराटनगर परिक्रमा गरेको ६ हजार रुपैयाँ र ताप्लेजुङको पाथीभरासम्मको हेलि टुरको लागि ३६ हजार शुल्क लिने हेलिकोप्टर व्यवस्थापन समितिका संयोजक पवन सुरानाले बताएका थिए । तर, यत्तिको चर्चा बटुलेको हेलिकोप्टर उडान भने हुन सकेको छैन ।

यस विषयमा बुझ्न विराट एक्स्पो व्यवस्थापन समितिका संयोजक अनुपम राठीलाई सम्पर्क गर्दा फोन उठेन । समितिकै सदस्य प्रकाश मुन्दडाले भने हेलिकोप्टर उडानको चर्चा भए पनि हुन नसकेको स्वीकारे । उनी भन्छन्, ‘रेस्क्युमा गएकाले हुन नसकेको कुरा भएको छ । यो भन्दा धेरै मलाई थाहा भएन ।’